नापी अधिकृत पुरीविरुद्ध १ करोडको ‘अकुत’ मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचारमा कारवाहीका लागि मुद्दा दायर गरेको हो।
काठमाडौं, साउन १४ : नापी कार्यालय चाबहिलमा कार्यरत अधिकृत राजु पुरीविरुद्ध एक करोडभन्दा बढी गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको दाबीसहित विशेष अदालतम मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचारमा कारवाहीका लागि मुद्दा दायर गरेको हो। पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँ ८३ पैसा बराबर भ्रष्टाचारको बिगो कायम गरिएको छ। पुरी २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका थिए।
उनको यसविचमा वैध आय एक करोड २० लाख ७७ हजार सात सय ४८ रुपैयाँ रहेको दाबी अख्तियारको छ। उनको कुल सम्पत्ति दुई करोड २४ लाख ८१ हजार ६ सय ९० रुपैयाँ ५२ पैसा मध्ये झण्डै आधार भ्रष्टाचारबाट आर्जित भएको निश्कर्षमा अख्तियार पुगेको छ।
पुरीले कमाएको अकुत सम्पत्ति श्रीमती सृजना गिरीको नाममा समेत राखेको दाबीसहित अवैध सम्पत्ति जफत गरी सोही अनुरुप जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुरुप सजायको माग दाबी छ।











