‘कांग्रेसको काँधमा मुलुक र जनताको हितमा काम गनुपर्ने जिम्मेवारी छ’
कांग्रेस कुनै कारणले कमजोर हुनुपर्ने अवस्था नभएको बताउँदै उनले मुलुकमा ठूला परिर्वतन र ऐतिहासिक काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराए।
कञ्चनपुर, साउन १३ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन्।
नेपाली कांग्रेस भीमदत्त नगर समितिको सम्मेलन उद्घाटनका क्रममा उनले जनचाहनाअनुसारको विकास र समृद्धिका लागि कांग्रेस अघि बढेको बताए।
‘देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि कांग्रेस प्रत्येक ठाउँमा सुदृढ हुन जरुरी छ’, नेता लेखकले भने, ‘केन्द्रीय कार्यसमिति मात्रै सुदृढ भएर होइन, गाउँ–टोलमा पनि कांग्रेस सुदृढ हुन जरुरी छ।’
कांग्रेस सुदृढ गर्नकै लागि कांग्रेसले देशभर पालिकास्तरमा सम्मेलन गरिरहेको उनले बताए। कांग्रेस कुनै कारणले कमजोर हुनुपर्ने अवस्था नभएको बताउँदै उनले मुलुकमा ठूला परिर्वतन र ऐतिहासिक काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराए।
‘दशवर्षे सशस्त्र द्वन्द्वमा जनजीवन अस्तव्यस्त भएका बेला कांग्रेसले वार्ता, संवाद र सहमतिका माध्यमबाट शान्ति ल्यायो । मुलुकमा आवश्यकता परेका बेला संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको थियो,’ नेता लेखकले भने।
उनले कञ्चनपुरमा नेपाल–भारत त्रिदेशीय नाका, दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर र मझगाउँ विमानस्थल निर्माणको काम अघि बढेको बताए।











