स्थानीयको अवरोधपछि चार दिनदेखि उठेन पोखराको फोहर
स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन्।
कास्की, साउन १३ : पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ।
पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो।
पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहर थुप्रिएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौदेखिको ल्याण्डफिल साइटमा फोहर लैजान रोकिएको थियो।
त्यसपछि महानगरले अस्थायी रुपमा वडा नं ३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहर व्यवस्थापन गर्दै आएको थियो।
स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन्।
महानगरले ६ महिनाभित्रमा फोहर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन्। स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको छ।
पुस दोस्रो सातादेखि लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहरमैला व्यवस्थापन गर्दै आएको छ।
महानगर प्रमुख धनराज आचार्यले ल्याण्डफिल साइट क्षेत्रका स्थानीयसँग सम्वाद भइरहेको बताए। उनले बजार क्षेत्रमा सडकमा ल्याएर फोहर नफाल्न पोखरावासीमा आग्रह गरे।
‘ल्याण्डफिल्ड साइटमा फोहर लैजान केही अवरोध भएकाले चार दिनदेखि फोहर उठाउन सकिएको छैन, हामी सम्वादमा छौं,’ उनले भने, ‘डेङ्गु बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा दुखित भए पनि आशा गरौँ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ, फोहर उठाउने गाडी नआउँदासम्म प्रतिक्षा गरौँ र सडकमा फोहर नफाल्न आग्रह गर्दछु।’
यस्तै, वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रुपमा फोहर लैजान छलफल भइरहेको बताए। ल्याण्डफिल साइटको सही ढङ्गले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको वडाध्यक्ष कार्कीले बताए।
पोखरा महानगरले यसअघि गत पुसमा छ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहर व्यवस्थापन सुरु गरेको हो। महानगरले वडा नं ३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ।











