बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री
नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो। सो लक्ष्य तोकिएको अवधिअगावै पूरा भएको छ।
काठमाडौं, साउन १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।
विश्व बाघ दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरे।
नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो। सो लक्ष्य तोकिएको अवधिअगावै पूरा भएको छ।
प्रधानमन्त्री दाहालले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गरेकोमा सबैप्रति आभार प्रकट गरे।
उनले निर्धारित लक्ष्य हासिल गर्न क्रियाशील वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्था, कर्मचारी र स्थानीय समुदायलाई धन्यवाद दिए।
प्रधानमन्त्री दाहाले बाघको सङ्ख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गरे।
बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताए।
‘बाघको संरक्षण तथा व्यवस्थापनमा थपिएका चुनौतीलाई सम्बोधन गर्न बाघसम्बन्धी थप अध्ययन अनुसन्धान, अग्रपङ्क्तिमा खटिएका कर्मचारीको क्षमता अभिवृद्धि, सम्बद्ध सरकारी तथा गैरसरकारी क्षेत्र अन्तर्राष्ट्रिय साझेदार संस्थाबीचको समन्वय उत्तिकै आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री दाहालले जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय समुदायसामु गरेका प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा मानव र वन्यजन्तुबीचको सह–अस्तित्व कायम गर्नमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आह्वान गरे।
उनले आजका दिनमा बाघलगायत अद्वितीय जैविक विविधता संरक्षणमा थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे।











