बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति
राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरे।
काठमाडौं, साउन १३ : राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।
विश्व बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरे।
'बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवं सहयोगी संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु,' पौडेलद्वारा जारी विज्ञप्तिा भनिएको छ।
बाघको चोरी शिकारी तथा बाघका अङ्गको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएको उनको भनाइ छ।
'राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ। बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावारमाथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रम सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक छ,' राष्ट्रपति पौडेलले भनेका छन्।











