Kathmandu Press

वडाबाट नुन वितरण हुँदा जुम्लाका नागरिकलाई राहत

वडाबाटै प्रतिघरधुरीलाई तीन/तीन केजीका दरले नुन वितरण गरिएको छ । साल्ट ट्रेडिङ कार्यालयबाट १५ क्विन्टल नुन वडामै ल्याएर स्थानीयवासीलाई वितरण गरिएको वडाध्यक्ष बुढाको भनाइ छ।
वडाबाट नुन वितरण हुँदा जुम्लाका नागरिकलाई राहत

जुम्ला, साउन १३ : जुम्लाका स्थानीय तहले वडाबाटै नुन वितरणको थालनी सुरु गरेसँगै यहाँका स्थानीयवासीलाई राहत मिलेको छ।

गत असार ३१ गते साल्ट ट्रेडिङ कार्यालयको मुख्य डिपोमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण सुरु गरिएको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए।  

साल्ट ट्रेडिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका छन्। जिल्लाको तातोपानी गाउँपालिका–२ ले वडाबाटै नुन वितरण गरेको वडाध्यक्ष चन्द्रमान बुढाले बताए।

वडाबाटै प्रतिघरधुरीलाई तीन/तीन केजीका दरले नुन वितरण गरिएको छ । साल्ट ट्रेडिङ कार्यालयबाट १५ क्विन्टल नुन वडामै ल्याएर स्थानीयवासीलाई वितरण गरिएको वडाध्यक्ष बुढाको भनाइ छ।

कार्यालयले अहिले धमाधम वडा कार्यालयलाई एकीकृतरूपमा नुन वितरण गर्न थालेको छ। तातोपानी गाउँपालिकाको १ देखि ७ वडा, चन्दननाथको १, ७, ८ र ९ र गुठीचौरको वडा नं २ र ४ मा नुन एकीकृतरूपमा वडाको मागअनुसार प्रतिघरधुरीलाई तीन प्याकेट पर्ने गरी वडालाई नुन पठाइसकेको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए।

कार्यालयका अनुसार तातोपानी वडा नं १ मा २१ क्विन्टल, २ मा १५ क्विन्टल, ३ मा १५ क्विन्टल, ४ मा २० क्विन्टल, ५ मा साढे १७ क्विन्टल, ६ मा साढे १२ क्विन्टल र वडा नं ७ मा साढे २२ क्विन्टल नुन वितरण गरिएको छ।

चन्दननाथ नगरपालिका वडा नं १ मा २५ क्विन्टल, वडा नं ७ मा ३५ क्विन्टल, वडा नं ८ मा २० क्विन्टल र वडा नं ९ मा २५ क्विन्टल, गुठीचौर गाउँपालिकाको वडा नंं १ लाई २५ क्विन्टल वडा नं ४ लाई ३० क्विन्टल नुन दिइएको साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अहिले पनि नागरिकले नुनका लागि भीडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट वितरण गर्न निर्देशन गरेअनुसार वडाबाट वितरण सुरु भएको जानकारी दिए।

कार्यालयले वडाको मागअनुसार अहिले वडालाई धमाधम नुन वितरण गरेको हो । सिञ्जा क्षेत्रको नराकोट डिपोबाट नुन वितरण भइरहेको छ। यहाँका नागरिकलाई घरमै डिपो कार्यालय सञ्चालनमा आएकामा सहज भएको सिञ्जाका स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति: ०७:५८ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्