वडाको उम्मेदवार छान्दा स्थानीय तहलाई अधिकार दिन माग
पार्टीको केन्द्रीय महासमिति÷महाधिवेशनमा स्थानीय तहका समितिबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउनका लागि विधानमा व्यवस्था गर्नसमेत माग गरेको छ।
काठमाडौं, साउन १३ : नेपाली कांग्रेस महानगर समितिले वडाको उम्मेदवार छनोट गर्दा स्थानीय तहलाई पूर्ण अधिकार दिन माग गरेको छ।
नेपाली कांग्रेस काठमाडौं महानगर समतिले आयोजना गरेको ‘अन्तर महानगर भेला’ले स्थानीय तहका समितिअन्तर्गतका वडामा निर्वाचनमा उम्मेदवार छनोट गर्दा तत्तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिश्चितताको माग गरेको हो।
भेलाले कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारी एवं सदस्यको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनका लागि केन्द्रीय कार्यसमिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यलाई लिखितरूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय महासमिति÷महाधिवेशनमा स्थानीय तहका समितिबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउनका लागि विधानमा व्यवस्था गर्नसमेत माग गरेको छ।
स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समयसापेक्ष नभएको हुनाले समयसापेक्ष हुने गरी, पदाधिकारीसमेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गर्ने निर्णय गरेको हो।
मुलुक संघीयतामा गएको अवस्थामा सो भावना र मर्मअनुरूप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्त्वको भएकाले सोहीअनुरूप पार्टीका सङ्गठनलाई पूर्ण अधिकारको सुनिश्चितता गर्न माग गरिएको कांग्रेस काठमाडौँ महानगर समितिका सभापति नीलकाजी शाक्यले जानकारी दिए।
भेलामा पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छे, ललितपुर महानगर समिति सभापति शुभान्नरत्न धाख्वा, भरतपुर महानगर समिति सभापति चित्रसेन अधिकारी, विराटनगर महानगर समिति सभापति दीपक चापागाईं र वीरगञ्ज महानगर समिति सभापति मणिन्द्र नेपालीको सहभागिता रहेको थियो।











