मलेसियमा नेपाली राजदूतको धन्दा : श्रमिकको हकहित छोडेर आफ्नै व्यवसायको प्रवर्द्धन
पौडेलले एक वर्षपछिको नेपालको प्रधानमन्त्री भन्दै माधव नेपाललाई मलेसियाका उच्च सरकारी अधिकारीहरुसँग पनि कुटनीतिक मर्यदाविपरित भेट गराएका छन्।
काठमाडौं, साउन १२ : इन्डोनेसिया भ्रमणमा गएका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मलेसियाका लागि नेपाली राजनदूत डिल्ली पौडेलले आफ्नो व्यक्तिगत व्यापार प्रवर्द्धनमा दुरुपयोग गरेका छन्।
नेपाली कामदारको राम्रो गन्तव्य रहेको मलेसियामा नेपालको प्रतिनिधित्व गर्ने राजदूत पौडेल त्यहाँ नेपाली कामदारको दुःख–सुखमा साथ र सहयोग गर्नुपर्नेमा उल्टै म्यानपावर धन्दामा लागेका हुन्। यो विषयमा नेपाल सरकारले पौडेल यसअघि पनि सचेत गराइसकेको छ।
राजदूत पौडेलले पूर्वप्रधानमन्त्री नेपाललाई साक्षी राखेर आफ्नो व्यापारिक प्रस्ताव मलेसियन सरकारसमक्ष राखेका छन्। पौडेलले एक वर्षपछिको नेपालको प्रधानमन्त्री भन्दै माधव नेपाललाई मलेसियाका उच्च सरकारी अधिकारीहरुसँग पनि कुटनीतिक मर्यदाविपरित भेट गराएका छन्।
पौडेलले नेपाललाई अबको प्रधानमन्त्री भन्दै त्यहाँका गृहमन्त्री सैफुद्दिनसँग मंगलबार भेट गराएका थिए। गृह मन्त्रालयमा माधव नेपाल पत्नी गायत्री नेपालसहित भएको भेटको सोही मौकामा राजदूत पौडेलले नेपाली श्रमिकको हितका लागि भन्दै ८ बुँदे प्रस्तावको मस्यौदा पेश गरेको बताइएको छ।
पौडेल राजदूत भएर गएदेखि नै आफ्नो व्यापारमा लागेको भन्दै मेनपावर व्यवसायीहरुले पटक–पटक प्रमाणसहित श्रम तथा रोजगार मन्त्रालयमा उजुरी गरेका छन्। यसपटक माधव नेपाललाई साक्षी राखेर उनले नेपालमा सेक्युरिटी गार्ड तालिम केन्द्र खोल्ने र तालिम नलिएकालाई मलेसिया लैजान नदिने प्रस्ताव पेश गरेका छन्।
‘ट्रेनिङ सेन्टर’बाट तालिम लिएकालाई मात्र मलेसियाले सेक्युरिटी गार्डमा लिने भनेर नेपाल सरकारलाई बाध्य पार्ने र नेपालमा तालिम केन्द्रको सिन्डिकेट खडा गरेर अरबाैं कमाउने योजनामा राजदूत पौडेल लागेको देखिएको छ। ‘पूर्वप्रधानमन्त्रीज्यू राजदुतको जालमा फस्नु भयो,’ मलेसियन दूतावासका एक कर्मचारीले भने ।

माधव नेपालको मलेसिया भ्रमण र त्यहाँको भेटघाटबारे परराष्ट्र मन्त्रालयले जानकारी नभएको जनाएको छ। श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीले राजदूतले मलेसियन गृहमन्त्रीसमक्ष राखेका प्रस्तावहरुबारे जानकारी नभएको र ती विषयमा अहिलेसम्म तालुक मन्त्रालयमा कुनै छलफल तथा प्रस्ताव नभएको बताएका छन्।
पौडेलले मलेसियाका गृहमन्त्रीसमक्ष राखेको ८बुँदे प्रस्तावमा कतिपय कामदारको हितसँग सम्बन्धित विषय भएपनि कतिपय व्यापारिक स्वार्थ गाँसिएका छन्। त्यसमा श्रमिकलाई घाटा हुने विषय राखिएको भन्दै म्यानपावर व्यवसायीहरु रुष्ट भएका छन्।
मलेसियामा अवैध रुपमा बसेका १० हजार नेपालीलाई फर्काउने बुँदासमेत उनले राखेका छन्। यसमा टिकटलगायतमा राम्रो रकम प्राप्त हुने भएर धरपकड गराउँदै स्वदेश फर्काउने योजना रहेको हुन सक्ने एक म्यानपावर व्यवसायीले बताए।
त्यस्तै राजदूत पौडेलले मेडिकल स्क्रिनिङलगायतका व्यवसाय पनि आफैं हत्याउने गरी प्रस्ताव गरेका छन् । उनले मलेसिया सरकारबाट प्रमाणित भएको तालिम केन्द्र नेपालमा खोलेर मलेसियाकै आवश्यकताअनुसारका कामदार उत्पादन गर्ने प्रस्ताव राखेका पनि राखेका छन्।
‘मलेसियाले तोकेको तालिम केन्द्र खोल्ने भनेको उताका माफिया र राजदूतको गिरोह मिलेर यहाँ तालिम केन्द्रका नाममा सिन्डिकेट खडा गर्ने र तालिमका नाममा श्रमिकबाट अर्बौं रकम उठाएर मेनपावरमा पनि सिण्डिकेट खडा गर्ने खेल खेलिएको छ,’ मेनपावर व्यवसायीहरू भन्छन्।











