वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुन्छ : स्वास्थ्यमन्त्री
वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताएका हुन्।
काठमाडाैं, साउन १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुने बताएका छन्।
वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागि परेको बताएका हुन्।
उनले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दाबी गरे। आफू स्वास्थ्य मन्त्रालयमा आएपछि ओपिडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआइपी र भिभिआइपी कक्ष दुईबाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायत सुधारको काम गरेको उनले बताए।
उनले वीर अस्पतालको इतिहासलाई समेत मध्यनजर गर्दै यसलाई राम्रोसँग सञ्चालन गरेर नीति अस्पताललाई चुनौती दिन सक्नुपर्ने धारणा राखे। १५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन भएको छ। कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।











