छायानाथ रारा नगरपालिकाको पार्क निर्माणमा भ्रष्टाचार भएको आरोपमा मुद्दा
उनीहरुमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।
काठमाडौं, साउन १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिका २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाउपर कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनीहरुमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ। अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लसँगै तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सब–इन्जिनियर हस्तबहादुर मल्ललाई भ्रष्टाचारमा प्रतिवादी कायम गरेको छ। उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलमाथि पनि मुद्दा चलाइएको छ।
अख्तियारका अनुसार जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको जिल्ला वन कार्यालयको कम्पाउण्डभित्रको जग्गामा जिल्ला वन कार्यालयबाट पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई पार्क निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार पाँच सय रुपैयाँ पेश्की उपलब्ध गराएका थिए।
जिल्ला वन कार्यालयले अनुमति नदिएकाले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनाहरुसमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकि उपभोक्ता समितिलाई भुक्तानी भएको पेश्की फर्छ्यौट हुन नसकेको दाबी अख्तियारको छ। अख्तियारले ३८ लाख ४७ हजार पाँच सय रुपैयाँ नै सरकारी रकम हानिनोक्सानी हुन पुगेको दाबी गरेको छ। प्रतिबादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सजाय माग गरिएको छ।











