Kathmandu Press

‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

काठमाडाैं, साउन ११ : राष्ट्रिय तथ्याड्क कार्यालयले १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर 'नेपालमा जनगणना' नामक पुस्तक सार्वजनिक गरेको छ। 

जनगणनाका विभिन्न प्रकाशन प्रकाशन गर्ने क्रममा यो पुस्तक प्रकाशन गरिएको हो। १९६८ देखि २०७८ सालसम्म सञ्चालित जनगणनाका गणना प्रकिया, अवधारणा तथा परिभाषा, विशेषता, जनगणनाको समयमा सोधिएका प्रश्नहरु र नतिजा लगायतका विभिन्न विषय समेटेर यो विशेष पुस्तक प्रकाशन गरिएको कार्यालयका निर्देशक एवं सूचना अधिकारी मनोहर घिमिरेले राससलाई जानकारी दिए। 

Hardik ivf

केन्द्रीय तथ्यांक विभागका पूर्व महानिर्देशक तुङ् शिरोमणि बाँस्तोलाले यो पुस्तक लेख्नुभएको हो। १९६८ मा भएको पहिलो जनगणनादेखि २०७८ मा भएको बाह्रौं राष्ट्रिय जनगणनाका बारेमा विस्तृत रुपमा यस पुस्तकमा लेखिएको छ।
   
यो पुस्तक सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, नीति निर्माता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी लगायत सबैलाई उपयोगी हुने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक घिमिरेले बताए। नेपालमा १९६८ देखि जनगणना सुरु गरिएको हो। 

विसं २००९/११ मा सञ्चालित पाँचौँ जनगणनालाई वैज्ञानिक विधिबाट सञ्चालित पहिलो जनगणना मानिन्छ।
बाह्रौंँ राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म अक्सर बसोबासको अवधारणामा सञ्चालन भएको थियो।

कोभिड– १९ महामारीका कारण २०७८ जेठ, असारमा सञ्चालन हुन नसक्दा कात्तिक मङ्सिरमा जनगणना गरिएको थियो। यस जनगणनामा मङ्सिर ९ गतेलाई जनगणना दिवसको रुपमा लिइएको छ। यस जनगणनाको अन्तिम प्रतिवेदन २०७९ चैत १० मा सार्वजनिक गरिएको छ। 

जनगणनाको अन्तिम नतिजा अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ। यसमा पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख एघार हजार २७ रहेको छ। 

वि.सं. १९६८ को पहिलो जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार सात सय ४९ रहेको थियो। पुस्तकमा दुई सय ४२ पृष्ठ छ। पुस्तक निःशुल्क वितरण गरिने कार्यालयले जनाएको छ। कार्यालयको वेबसाइटमा पनि पुस्तक पढ्न सकिने जनाइएको छ।

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्