७१ वर्षमा नागरिकता
वडाध्यक्ष नरबहादुर नेपालले भने, 'कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौँ।'
चितवन, साउन ११ : चितवनको इच्छाकामना गाउँपालिका ३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छन्।
माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उहाँले नागरिकता पाएकी हुन्।
'माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो,' वडाध्यक्ष नरबहादुर नेपालले भने, 'कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौँ।'
वयोवृद्व अवस्थामा नागरिकता बनेसँगै मीनाकुमारी राई खुसी भएकी छन्। 'नागरिकता बनेपछि अब मैले पनि भत्ता पाउँछु,' खुसी हुँदै उनले भने। राईलाई ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने वडाध्यक्ष नेपालले बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










