गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान
गाैरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी हुन्।
काठमाडौं, साउन १० : जापानको फुकुओकामा जारी २०औं वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।
उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी हुन्।
गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा ३१.८७ सेकेन्डको कीर्तिमानी राखेकी थिइन्।
ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको उक्त च्याम्पियनसिपअन्तर्गत बुधबार नै भएको पुरुषतर्फको एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।
एलेक्जेन्डरले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड कामय गरेका हुन्। उनले हालै सम्पन्न ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए।
अब नेपाली खेलाडीको दुई खेल बाँकी छ। बिहीबार डुबाना लामाले एक सय मिटर फ्रिस्टायल र एलेक्जेन्डरले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले जानकारी दिए।












