पहिरोले विद्यालय भवनमा क्षति
‘भवनको गारो र भुई चर्किएर बस्न नमिल्ने अवस्था छ। सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ मा सँगै राखेर पढाएका छौं। अरु भवन पनि भत्कने अवस्थामा छन्,’ प्रधानाध्यापक उपाध्यायले भने।
म्याग्दी, साउन ९ : म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्याएको छ।
पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएको छ। विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले ६ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए।
‘भवनको गारो र भुई चर्किएर बस्न नमिल्ने अवस्था छ। सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ मा सँगै राखेर पढाएका छौं। अरु भवन पनि भत्कने अवस्थामा छन्,’ प्रधानाध्यापक उपाध्यायले भने।
४५ विद्यार्थी रहेको उक्त विद्यालयको जीर्ण भवनमा बसेर पढ्न विद्यार्थीहरु डराएका छन्। दुई कोठे शौचालयको गारो चिरा परेर प्रयोग गर्न नमिल्ने भएको छ। विद्यालय भवनको मुनी गत हिउँदमा सडक निर्माण गरिएकाले अहिले सडकबाट पहिरो बग्न थालेको छ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी र प्राविधिकहरुको टोलीले मङ्गलबार पहिरोको जोखिममा रहेको विद्यालय निरीक्षण गरेका छन्। उनीहरूले तत्काल थप क्षति हुन नदिन तथा पठनपाठनमा असर पर्न नदिन व्यवस्था मिलाइने र दीर्घकालिन समाधानका लागि पहल गरिने बताएका छन्।