Kathmandu Press

साउने सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए।
साउने सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं, साउन ८ : सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ।

भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए।

पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन्। सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उनले बताए।

Hardik ivf

यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गरेको कोषले जनाएको छ। यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्।

आजै प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। बेलुकीको आरतीमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल सहभागी हुने कार्यक्रम रहेको पनि जनाइएको छ।

SM-Jaleshower-IMG202307171459201690178045.jpg
महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन ।

पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ। बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ। यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ। जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ।

पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघट पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताए। यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन्। साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन्।

प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ। -रासस

प्रकाशित मिति: ११:३७ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्