बुटवल उपमहानगरका पूर्वउपप्रमुख खनालको निधन
दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो। खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियोे।बुटवल, साउन ७ : बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ।
दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो। खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियोे।
लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायीरुपमा बस्दै आएका खनाल विसं २०४६ को जनआन्दोलन पछि विसं २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। पाल्पाको कुशुम खोलामा जन्मेका ८३ वर्षीय खनालका चार छोरा दुई छोरी र दुई श्रीमती छन्।
यस्तै पूर्वउपप्रमुख खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आज अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको छ। आज दिउँसो शोकसभा गर्दै बुटवल उपमहानगरपालिकाले आइतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको हो।
त्यसअवसरमा नगरप्रमुख खेलराज पाण्डेयले पूर्वउपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुःख व्यक्त गरे। सालिन नेताका रुपमा रहनुभएका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति समालेका थिए।