श्रीलंकालाई हराउँदै पाकिस्तान इमर्जिङ टिम्स कपको फाइनलमा
कोलम्बोमा शुक्रबार भएको सेमिफाइनलमा आयोजक श्रीलंका एलाई ६० रनले हराउँदै पाकिस्तान ए फाइनलमा पुगेको हो
काठमाडौं, साउन ५ : पाकिस्तान ए श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
कोलम्बोमा शुक्रबार भएको सेमिफाइनलमा आयोजक श्रीलंका एलाई ६० रनले हराउँदै पाकिस्तान ए फाइनलमा पुगेको हो। अब उसले उपाधिका लागि भारत ए र बंगलादेश एबीचको विजेतासँग खेल्नेछ।
पहिला ब्याटिङ गर्दै पाकिस्तान एले दिएको ३२३ रनको लक्ष्य पछ्याएको श्रीलंका ए ४५.४ ओभरमा २६२ रनमै लआउछ भयो । उसका लागि ओपनर अविस्का फर्नान्डो र अशन अराच्चिगे बाहेक अन्यले गतिलो योगदान दिन नसकेनन्।
दुवैले समान ९७ रन बनाए। फर्नान्डोले ८५ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे भने अराच्चिगेले १०९ बलमा १२ चौका र १ छक्का प्रहार गरे। यी दुईले चौथो विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए। तर, यी दुवै लागतार आउट भएपछि श्रीलंका पराजित भयो।
पाकिस्तानका अर्शद इक्वालले घातक बलिङ गरे। उनले ७.४ ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए। यस्तै, मुबासिर खान र सुफियान मुकिमले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा अलआउट हुृँदै ३२२ रन बनायो। उसका ओमाइर युसुफले सर्वाधिक ८८ रन बनाए । उनले ७९ बलमा १० चौका र १ छक्का प्रहार गरे।
यस्तै, मोहम्मद हरिसले ४३ बलमा ५ चौका प्रहार गर्दै ५२ बनाउँदा र मुबासिर खानले ४५ बलमा ४२ रनको योगदान दिए।
श्रीलंकाका लागि चमिका करुणारत्ने, लाहिरु सामाराकुन र प्रमेद मसुशनले समान २ विकेट लिए।












