Kathmandu Press

मणिपुरमा महिलालाई निर्वस्त्र पारियाे, दाेषीलाई माफी नदिइने मोदीकाे भनाइ   

हिंसा बढिरहेका बेला पछिल्लोपटक सार्वजनिक भएको भिडियोलाई लिएर भारतभर आलोचना र विरोध गरिएको छ। उक्त भिडियोमा हतियारधारी युवा रहेको एउटा समूहले महिलालाई निर्वस्त्र पारेर सडकमा घुमाइरहेको दृश्य छ।
मणिपुरमा महिलालाई निर्वस्त्र पारियाे, दाेषीलाई माफी नदिइने मोदीकाे भनाइ   

काठमाडौं, साउन ४ : साढ दुई महिनादेखि भारतीय राज्य मणिपुर हिंसाग्रस्त छ। पछिल्लो समय एउटा भिडियोलाई लिएर भारत थप उद्वेलित बनेको छ। भिडियोमा महिला र युवतीमाथि यौन हिंसा भएको दृश्य छ। उक्त भिडियोको सन्दर्भलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारै एक सय ४० करोड भारतवासी नै लज्जित भएको बताएका छन्। 

यतिबेला मणिपुरमा मैतेइ र कुकी समुदायबीच हिंसा भड्किएको छ। मणिपुर उच्च अदालतले त्यहाँको बहुसंख्यक मैतेई समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्ने विषयमा विचार गर्न भन्दै राज्य सरकारका नाममा आदेश जारी गरेपछि मणिपुर अशान्त बनेको हो। मणिपुरमा अल्पसंख्यक कुकी समुदायका व्यक्तिले उच्च अदालतको आदेशको विरोध गरिरहेका छन्। 

हिंसा बढिरहेका बेला पछिल्लोपटक सार्वजनिक भएको भिडियोलाई लिएर भारतभर आलोचना र विरोध गरिएको छ। उक्त भिडियोमा हतियारधारी युवा रहेको एउटा समूहले महिलालाई निर्वस्त्र पारेर सडकमा घुमाइरहेको दृश्य छ।

Hardik ivf

यस्तै महिलामाथि यौन उत्पीडन भइरहेको पनि भिडियोमा देखिन्छ। मणिपुर प्रहरीले उक्त भिडियो मे महिनाको ४ तारिखको भएको जनाएको छ। कुकी–जोमी समुदायका यी महिलामाथि मैतेई बहुल थोबल जिल्लामा यौन उत्पीडन भएको समाचार इन्डियन एक्सप्रेसमा प्रकाशित भएको छ। 

यसैबीच सामूहिक बलात्कार एवं यौन उत्पीडनबाट पीडित महिलाहरुले कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका छन्। जाहेरीमा एक ५० वर्षीया महिलाको कपडा उतारेर यौन उत्पिडन गरिएको दाबी गरिएको जनाइएको छ। आधुनिक हतियार बोकेका ८ सय देखि १ हजार जनाको समूहले थोबल जिल्लास्थित गाउँमा यस्तो हर्कत गरेको भनाई पीडित महिलाको छ। ती हतियारधारीहरुले गाउँमा लुटपाट मच्चाउनका साथै घरहरुमा आगोसमेत लगाइदिएका थिए। 

भिडमा रहेका व्यक्तिले पीडित युवतीका पितालाई हत्या गरिदिएको बताइएको छ। त्यसपछि महिलालाई निर्वस्त्र भएर हिँड्न विवश बनाइएको थियो। सामूहिक बलात्कारको शिकार भइरहेकी दिदीलाई बचाउन गएका १९ वर्षीया किशोरको समेत हत्या गरिएको पीडित महिलाले प्रहरीलाई बताएका छन्। 

यता, मणिपुर हिंसाको तीन महिनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोलेका छन्। उनले मिडियामार्फत प्रतिक्रिया दिएका छन्। मिडियालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मणिपुरमा भएको उक्त घटना ए सय ४० करोड भारतीयका लागि लज्जाको विषय भएको बताएका हुन्।

मोदीले भनेका छन्, ‘मणिपुरमा भएको घटनाले १४० करोड भारतीयलाई लज्जा भएको छ। म सबै देशवासीलाई आश्वस्त पार्न चाहन्छु, यसमा संलग्न कसैलाई पनि छुट दिइने छैन।’ संसद् सत्र सुरु हुनु अगाडि मोदीले मिडियालाई प्रतिक्रिया दिएका हुन्। 

मोदीले भनेका छन्, ‘लोकतन्त्रको यो मन्दिर (संसद्) अगाडि उभिरहँदा मेरो हृदय पीडाले भरिएको छ। क्रोधले भरिएको छ। मणिपुरको जुन घटना सार्वजनिक भएको छ कुनै पनि सभ्य समाजका लागि यो लज्जित बनाउने घटना हो। पाप गर्नेहरु, अपराध गर्नेहरु कति छन्, को हुन्, उनीहरु आफ्नो ठाउँमा छन्। तर बेइज्जती पुरै देशको भइरहेको छ। १४० करोड देशबासी लज्जित हुनुपरेको छ।’ 

प्रधानमन्त्री मोदीले सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देन दिँदै आफ्नो राज्यमा कानुन–व्यवस्थामा अझ कडाइ गर्न आग्रह समेत गरेका छन्। मोदीले भनेका छन्, ‘खास गरेर हाम्रा आमा तथा बहिनीहरुको रक्षाका लागि कठोरभन्दा कठोर कदम उठाउनोस्।’

उनले कुनै पनि अपराधीलाई छुट नदिइने भन्दै नागरिकलाई आश्वस्त पारेका छन्। कानुन अनुरुप आफ्नो पुरै शक्तिका साथ एकपछि अर्को कदम उठाउनेसमेत मोदीले बताएका छन्। ‘मणिपुरका चेलीहरुमाथि जे भएको छ त्यसमा कहिल्यै माफ गर्न सकिन्न,’ मोदीले चेतावनीको भाषामा भनेका छन्। 
 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्