विश्व आदिवासी दिवस मनाइने
संयुक्त राष्ट्रसङ्घले अगष्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष विश्वका आदिवासीले यो दिवस मनाउन थालेका हुन्।
काठमाडाैं, साउन ४ : उनान्तीसाैं विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासङ्घले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यस वर्ष पनि मनाउने निर्णय गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए।
महासङ्घको बैठकले उक्त दिवसका लागि केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारी सदस्य रहने गरी मूलसमारोह समितिसमेत गठन गरेको छ। बैठकले उक्त दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गर्ने निर्णय गरेको छ।
सो दिवसमा अवसरमा विभिन्न जातीय समुदायको झाँकी तथा र्याली प्रदर्शन गरिने, फुड फेस्टिभल आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ। त्यस अवसरमा अन्य विभिन्न जातीय सङ्घ संस्थासँग मिलेर साताव्यापी विभिन्न कार्यक्रम गरिनेसमेत महासङ्घले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घले अगष्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष विश्वका आदिवासीले यो दिवस मनाउन थालेका हुन्।












