Kathmandu Press

नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन्। 
नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग

काठमाडाैं, असार ४ :  सांसद डा. विमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन्। 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन्। 

Hardik ivf

सांसद पौडयालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क राखिन्। उनले भनिन्, 'नेपाली सेना अब्बल शक्तिका रुपमा छ। देशमा नेपाली सेनाको सङ्ख्या कति आवश्यक पर्ने हो, त्यसको समीक्षा गरेर व्यवस्थापन गरिनुपर्छ। हिजो द्वन्द्व थियो सेनाको सङ्ख्या बढाइयो तर अहिले देशमा कुनै किसिमको अशान्ति छैन, त्यसैले किन सेनाको सङ्ख्या बढी चाहियो।'

सांसद मायाप्रसाद शर्माले वर्तमान सरकारले सुशासन प्रवर्धनका लागि जनताले अनुभूत गर्नेगरी काम गरेको बताए। उनले सरकारले अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रणमा काम गरेको भन्दै प्रशंसा गरे। उनले देशविकासको पूर्वाधार शिक्षा भन्दै भएको नीतिगत तहबाटै सुधारको खाँचो औल्याए। सांसद शर्माले कर्णाली प्रदेशमा भएका जडीबुटी प्रशोधनका  लागि सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय गर्नुपर्नेमा जोड दिए।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न मितिमा प्रणाणीकरण भएका विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्रऋण उठाउने विधेयक प्रमाणीकरणको विवरण उनले पढेर सुनाएका थिए।

समितिमा सदस्यहरुको हेरफेर
 
अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् अन्तर्गत गठिन संयुक्त समितिमा रहने सांसद सदस्यको नाम फेरफेर गरेका छन्। जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सांसद भैरवसुन्दर श्रेष्ठको सट्टा सांसद बिमला घिमिरे सदस्य रहनेगरी हेरफेर गरेका हुन्। उक्त प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो।

विद्युतीय व्यापार विधेयक विधायन समितिमा
 
राष्ट्रियसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 

उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको थियो। राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्