चन्द्रागिरी खानेपानीकाे एकलौटी ऐन ल्याएको भन्दै समितिहरूले जनाए असन्तुष्टि
उपभोक्ता समितिका पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले उपभोक्ता समितिजस्तो स्वायत्त संस्थाको सम्पत्ति र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।
काठमाडौं, साउन १ : काठमाडौंको चन्द्रागिरी नगरपालिकाले चन्द्रागिरी खानेपानी तथा सरसफाइ व्यवस्थापन ऐन–२०८० जारी गरेपछि उपभोक्ता समितिहरु विरोधमा उत्रिएका छन्। नगरपालिकाले सो ऐन जारी गर्दा खानेपानी उपभोक्ता समितिहरुसँग सहकार्य नगरी एकलौटी ल्याएको भन्दै समितिहरुले असन्तुष्टि जनाएका हुन्।
उपभोक्ता समितिका पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले उपभोक्ता समितिजस्तो स्वायत्त संस्थाको सम्पत्ति र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले यसअघि चलिआएको सिस्टममा पालिकाले धावा बोलेको बताए।
नगरपालिकाले ऐन जारी गर्दा कुनै पनि उपभोक्ता समितिहरुसँग छलफल नगरेको , जनताले आफ्नो स्वैच्छिक तरिकाले अनुदान, महसुल तिरेको पुँजी र चल अचल सम्पत्तिलाई नियन्त्रण गर्न खोजेको समितिको हरुको भनाइ छ। नगरपालिकाले जारी गरेको ऐन लागू भएपछि उपभोक्ता समिति स्वतः निष्कृय हुने नयाँ ऐनमा व्यवस्था गरिएको छ। ऐन नसच्चिए आफूहरु स्थानीय सरकार विरुद्ध आन्दोलनमा उत्रिने उनीहरुको भनाइ छ।












