Kathmandu Press

पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा

बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए। कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ।
पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा
कञ्चनपुरकाे कलुवापुर बजार। फाइल तस्बिर

कञ्चनपुर, असार ३१ : पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ। पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो।

‘बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको संख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ,’ स्थानीय जयबहादुर ऐरले भने, ‘नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ।’

Hardik ivf

बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए। कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ।

स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै छ वर्ष बित्नै लाग्दा पानीको निकासका लागि पहल नगरिएको स्थानीय बासिन्दाको गुनासो छ। ‘पानी निकास हुने कल्भर्ट पाइप थुनेर संरचना निर्माण गर्नेलाई कारबाही हुनसकेको छैन,’ स्थानीय प्रकाशबहादुर ऐरले भने, ‘विकल्पका रूपमा नगरपालिकाले ढल निर्माण गरी पानी निकास गर्नुपर्दथ्यो, त्यो पनि हुनसकेको छैन।’

नगरपालिकाका जनप्रतिनिधिले अनुगमन गर्ने कार्यबाहेक बजार व्यवस्थित गर्ने कार्यमा चासो नदिएको प्रति उनले असन्तुष्टि पोखे। पहिला पानी बजार आसपासकै क्षेत्रसम्म भरिन्थ्यो, हाल वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पस्न थालेको उनले बताए।

बजार क्षेत्र नजिकका खोका छाप्रामा पानी भएपछि व्यापारीको सामानसमेत बिग्रिएको छ । चार दिनदेखि धेरै व्यापारीले पानीकै कारण पसल खोल्न पाएका छैनन्।

बजार क्षेत्रको पानी निकासका लागि सरोकारवाला निकायसँंग समन्वयको कार्य भइरहेको नगरप्रमुख रणबहादुर महराले बताए। ‘तत्कालका लागि बजार क्षेत्रमा जम्मा भएको पानी निकासका लागि बजारको पूर्वतर्फको क्षेत्रमा नाली खनेर निकास गर्छौं,’ उनले भने, ‘पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्छौं।’

प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय कञ्चनपुर र पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रतिनिधिसहितको टोलीले कलुवापुर बजार क्षेत्रको डुबान परेको क्षेत्रको शनिबार स्थलगत अनुगमनसमेत गरेका छन्। कलुवापुर बजार क्षेत्रमा झन्डै दुई सय बढी पसल छन्।

प्रकाशित मिति: ११:१७ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्