नेवार समुदायले मनाए घण्टाकर्ण (गठांमुगः) पर्व
घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्। हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ।
काठमाडाैं, असार ३० : काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले शनिबार घण्टाकर्ण पर्व मनाएका छन्।
घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्। हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ।
भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ। त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी तीनखुट्टे, गठांमुगः को पुत्ला बनाइन्छ। टोलटोलमा अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानवरुपी गठांमुगःको पुत्ला बनाइ हाँडीमा नाक, मुख र कान बनाइन्छ। टोलटोलमा बनाइएको गठांमुगःलाई टोलबासी मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ।
चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रुपमा गठांमुगः चःह्रे मनाइँदै आएको छ। त्यस्तै मध्यपुरको थिमिस्थित बालकुमारीमा रहेको पोखरीमा राँगाको खुट्टा खोज्ने प्रचलन छ। भक्तपुरको सांस्कृतिक पर्वहरुलाई जगेर्ना गर्न नगरपालीका पनि सक्रिय रहेको मध्यपुर थिमि नगरपालीकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।
यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन्।












