Kathmandu Press

जुमानुले ह्याट्रिक गर्दा पुलिसको ‘टप सिक्स’मा

काठमाडौं, फागुन १ : सिजनको ए डिभिजन लिगको अन्तिम खेलमा जुमानु राईले उत्कृष्ट प्रदर्शन गरे। बिहीबार बिहान भएको खेलमा जुमानुले ह्याट्रिक गरेपछि फ्रेन्ड्....

जुमानुले ह्याट्रिक गर्दा पुलिसको ‘टप सिक्स’मा

काठमाडौं, फागुन १ : सिजनको ए डिभिजन लिगको अन्तिम खेलमा जुमानु राईले उत्कृष्ट प्रदर्शन गरे। बिहीबार बिहान भएको खेलमा जुमानुले ह्याट्रिक गरेपछि फ्रेन्ड्स क्लबलाई ३–० ले पारजित गर्दै नेपाल पुलिस क्लबले ‘टप सिक्स’ पक्का गरेको छ।

फ्रेन्ड्स क्लबलाई हराउँदै पुलिसले शीर्ष ६ मा आफ्नो स्थान पक्का गरेसँगै लिगको ‘सुपर सिक्स’ समीकरण पनि पूरा भएको छ। पुलिससँगै त्रिभुवन आर्मी, मच्छिन्द्र, मनाङ, थ्री स्टार र जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा आफ्नो स्थान पक्का गरेको हो। आगामी वर्ष आयोजना हुने राष्ट्रिय लिगमा ए डिभिजन लिगका शीर्ष ६ टिम र प्रदेश लिगबाट आएका टिमको सहभागीता रहने छ।

१३ खेलमा २० अंक जोड्दै पुलिसले लिग पाँचौं स्थानमा रहेर सकाएको छ। पुलिसले ६ जित, दुई बरारबी र पाँच हाराको सामना ग¥यो। फ्रेन्ड्स भने १३ खेलमा १४ अंकका साथ दशौं स्थानमा रह्यो।

लिगमा २९ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने २८ अंकका साथ मच्छिन्द्र दोस्रो स्थानमा छ। यस्तै, २५ अंक जोडेको मनाङ तेस्रो, २३ अंकका साथ थ्री स्टार चौथो र २२ अंक जोडेको जावलाखेल छैठौं स्थानमा छ।

बिहीबार सातदोबोटास्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा फ्रेन्ड्सले पहिलो हाफमा पुलिस गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो हाफमा जुमानु राई मैदान प्रवेश गरे र  ह्याट्रिक गर्दै खेलको स्वरुप परिवर्तन गरे।

उनले ४९औं मिनेटमा गोलको खाता खोलेका थिए। हेमन्त श्रेष्ठलाई रिप्लेस गर्र्दै मैदान छिरेका जुमानुले पहिलो आक्रमणमै गोल गरे। ५६औं मिनेटमा जुमानुले पुलिसको अग्रता दोब्बर बनाए भने ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

यो जारी लिगको दोस्रो ह्याट्रिक हो। यसअघि थ्री स्टारका संजोग राईले सरस्वती क्लबविरुद्ध ह्याट्रिक गरेका थिए। जुमानुले २०७० पछि पहिलो पटक लिगमा गोलको खाता खोले।

 

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्