प्रधानमन्त्री कप एनभिए भलिबलको फाइनल आज
पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र हेल्प नेपाल भीड्ने छन् भने एपीएफ र पुलिस आमने सामने हुनेछन् ।
काठमाडौं, असार ३० : प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसिपको फाइनल आज हुँदैछ।
पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र हेल्प नेपाल भीड्ने छन्। हेल्प नेपाल लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पाँच सेटमा पराजित गर्दै फाइनल पुगेको हो।
जारी लिगमा अपराजित हेल्प नेपाल ६ खेलमा १६ अंक जोडेको थियो। लिगमा हेल्प नेपालले पुलिसलाई पाँच सेटमा पराजित गरेको थियो।
पुलिस दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । उसले लिगको अन्तिम खेलमा एपीएफलाई सोझो सेटमा हराएको थियो। पुलिसले ६ खेलमा पाँचमा जित हात पारेको थियो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने फाइनल दिउँसो ३ बजे हुनेछ।
महिलातर्फ दुई चीरप्रतिद्वन्द्वी एपीएफ र पुलिस आमने सामने हुनेछन् । यो फाइनल परिषद्कै कभर्डहलमा १२ बजे सुरु हुनेछ । पुलिस पाँचमा शतप्रतिशत नतिजा निकाल्दै १५ अंकका साथ फाइनल प्रवेश गरेको हो।
एपीएफले एक हार बेहोरेको थियो । सो हार पुलिससँगै बेहोरेको हो । पुलिस लिगकै उच्च प्रदर्शन दोहोर्याउने लक्ष्यमा हुँदा एपीएफ सोझो सेटको हारको बदला लिन चाहन्छ।












