Kathmandu Press

झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्डमा भ्रष्टाचारको दाबीसहित मुद्दा 

आयोगले झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साह, उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख शासकीय अधिकृत, चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सवइन्जिनियर विज्ञान चम्लागाँईसहित ११ जनाको मिलेमोतोमा भ्रष्टाचार भएको दाबी अदालत समक्ष लिएको छ। 
झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्डमा भ्रष्टाचारको दाबीसहित मुद्दा 

काठमाडौं, असार २७ : झापाको झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साह, उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख शासकीय अधिकृत, चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सवइन्जिनियर विज्ञान चम्लागाँईसहित ११ जनाको मिलेमोतोमा भ्रष्टाचार भएको दाबी अदालत समक्ष लिएको छ। 

अख्तियारको अभियोगपत्र अनुसार आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकाबाट विनियोजित रकमबाट गाउँपालिका वडा नं ३, ६ र ७ भित्र पर्ने ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ आयोजनमा भए गरेको कामभन्दा २२ लाख बढी भुक्तानी दिइएको छ।

यस्तै लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुव्वा (राई) भन्ने शन्तमाया सुव्वा लिम्बूले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कामहरु नगरी झुठा बिल भरपाइका आधारमा भुक्तानी लिएको दाबी समेत अख्तियारले गरेको छ। 

झापा गाउँपालिकाकाको वडा नं ६ का तत्कालीन वडाध्यक्ष हरि बहादुर वानिया, वडा नं ७ का अध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा नं ३ का वडाध्यक्ष मोति लाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहे पनि उनीहरुले आयोजना गुणस्तर कायम गरेर सम्पन्न गरेको प्रतिवेदन दिएको अख्तियारले जनाएको छ। भ्रष्टाचार विगोको अनुपातमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग गरिएको छ।  
 
प्रकाशित मिति: १५:२४ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्