प्रधानमन्त्री कप एभिए भलिबल : पुरुषमा पुलिस र हेल्प नेपालको लागतार तेस्रो जित

काठमाडौं, असार २६ : विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा पुलिसले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो।
पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सैलुङ बागढुङ्गा क्लबलाई हराएको थियो।
खेलमा पुलिसले दावाली मिलन क्लबमाथि खेलको पहिलो सेट २५–२१, दोस्रो सेट २५–१९ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–१७ ले पराजित गर्यो। यस जितसँग पुलिसले ३ खेलमा ८ अंक जोडेको छ ।
हारसँगै लगातार चार खेलमा पराजित भएको दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिकरुपमा बाहिरिएको छ।
यस्तै पुरुष तर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले पनि आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लब माथी ३–० को जित निकालेको छ । हेल्प नेपालले गण्डकीमाथी २५–२२, २५–१७, २८–२६ को जित निकालेको हो । यस जितका साथ हेल्प नेपालको ९ अंक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग प्रतियोगिताको महिलातर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको छ । एपिएफको ३ खेलबाट ८ अंक भएको छ । एपिएफले आर्मी संग अंक बाँडेको थियो ।
यसैगरी न्यू डायमन्ड र आर्मीबिच भएको खेलमा न्यू डायमन्डले ३–२ सेटको जित आत्मसाथ ग¥यो। पहिलो र दोश्रो सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेश्रो र चौथो सेट १९–२५, २२–२५ ले आर्मीलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा डायमन्डले १५–९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अंक जोडेको हो । हारका बावजुद आर्मीको यो सहित २ अंक भएको छ।












