ठेक्का लगाएको नौ वर्षसम्म पनि पुल नबनेपछि नयाँ बाेलपत्र आव्हान
निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताए।
गोरखा, असार २३ : गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।
कूल १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो।
अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिए। ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ।
आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भनेपनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो । निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताए।
‘कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो’, देवकोटाले भने, ‘अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ।’
पप्पु कन्ट्रक्सनसँग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो।
पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले ३१ करोड ६३ लाख ९७ हजार ७ सय अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि बोलपत्र आह्वान गरेको उनले बताए।












