हेवा खोलामा बेलिब्रिज निर्माण पन्ध्र दिनमा
अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ।
काठमाडाैं, असार १९ : मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ। अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ।
असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिए। उनका अनुसार मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी राजमार्गका पुल बगाएको हो ।
तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्यपहाडी एउटा÷एउटा पुल बगाएको छ। उनले भने, “त्योमध्ये पनि धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले सुरु गरिएको छ।’
मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै सुरु भएको थियो। एकातिर जग तयारी भइरहेको छ । अर्कोतिर बेलिब्रिज पनि फिट गर्दै गरिने उनले बताए।
बेलिब्रिजका लागि दुवै किनारामा जग राख्नुपर्नेमा एकातिर सम्पन्न भइसकेको उपमहानिर्देशक पोखरेलले बताए। वारि जग हालेपछि पारिपट्टि टेकाउने काम हुने उनले बताए।
अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ।
मेची राजमार्गको यो पुल नबनेकाले यातायात नै ठप्प भएकाले प्राथमिकता अहिले त्यसैलाई दिइएको उनले बताए। अरु दुई ठाउँमा पानी कम भएपछि बेलिब्रिज राखिने योजना रहेको उनले बताए।












