Kathmandu Press

गण्डकी प्रदेशसभा : बजेटका सम्बन्धमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीको जवाफ

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्न र सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गरी कार्यान्वयन गरिने बताए।
गण्डकी प्रदेशसभा : बजेटका सम्बन्धमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीको जवाफ

कास्की, असार १९ : गण्डकी प्रदेशसभाको आजको बैठकमा आव ०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्न र सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गरी कार्यान्वयन गरिने बताए।

उनले पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगार सिर्जनामा बजेट केन्द्रित गरिएको उल्लेख गरे। स्रोतसाधनको सीमितताबीच उद्योग र पर्यटनका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको मन्त्री थापाले स्पष्ट पारे।  

Hardik ivf

पर्यटकीय गन्तव्यको विकास र नयाँ पदमार्ग पहिचानमा बजेट छुट्याइएको र देशकै प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सुन्दरतादेखि घरबास पर्यटनको प्रवर्द्धनसम्मलाई बजेट तथा कार्यक्रममा समेटिएको उनले भनाइ थियो।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेश सरकारले वस्तुगत र कार्यान्वयनयोग्य बजेट ल्याएको बताए। उनले हचुवाका भरमा नभई प्रतिफल दिने क्षेत्रमा मात्र बजेट विनियोजन गरिएको उल्लेख गरे। वितरणमुखी बजेटको परम्परालाई अन्त्य गर्न यसै वर्षदेखि सक्दो प्रयास थालिएको मन्त्री आले मगरको भनाइ थियो।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणालगायत दूरगामी महत्वका कार्यक्रम बजेटमा परेको बताउनुभयो । उनले न्यूनतम रु १० लाखसम्मका योजनामात्र बजेटमा समावेश गरिएको उल्लेख गरे। आवश्यकता पहिचान गरेर मात्र ऊर्जा, खानेपानी र सिँचाइका आयोजना छनोट गरिएको मन्त्री तिवारीले उल्लेख गरे।  

यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकासलाई गाउँसँग जोड्ने गरी बजेट विनियोजन गरिएको बताए। उनले पूर्वाधार आयोजनातर्फ बजेट तथा कार्यक्रमको बाँडफाँटमा कसैको पनि दबाब नआएको प्रस्ट पारे।

मन्त्री जुग्जालीले जनसङ्ख्याका आधारमा दोस्रो ठूलो जिल्ला भएर पनि नवलपुरमा तुलनात्मकरुपमा कम योजना परेको स्वीकार गर्दै  कसैको प्रभाव र दबाबमा नपरी आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिएको बताए।

बजेटमाथि मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रालयका बारेमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिएका हुन्। विनियोजन विधियेकमाथिको छलफल र जवाफको क्रम सकिएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्नेछ।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्