Kathmandu Press

समयमै आयात नहुँदा किसानलाई मल अभाव

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेको छ। तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन।
समयमै आयात नहुँदा किसानलाई मल अभाव

काठमाडौं, असार १९ : बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ। मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो।

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेको छ। तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन।

चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख २७ हजार पाँच सय मेट्रिक टन मल आउने क्रममा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकृत दीपक पौडेलले जानकारी दिए।

उनका अनुसार युरिया ५० हजार मेट्रिक टन , डिएपी ७० हजार मेट्रिक टन  र पोटास सात हजार पाँच सय मेट्रिक टन मल आयात गर्ने क्रममा छ।

सातै प्रदेशका डिपोमा हाल ७८ हजार चार सय ७५ मेट्रिक टन  मल मौज्दात छ। बजारमा वार्षिक करिब सात लाख मेट्रिक टन मलको माग छ । मुख्य बालीका रुपमा रहेको धान रोपाइँको समयमा मल अभाव भएको किसानको गुनासो छ।

स्थानीय तहको समन्वयमा क्षेत्रफलको आधारमा वैज्ञानिक प्रणालीबाट मल न्यायोचितरुपमा वितरण गरिएको मन्त्रालयले जनाएको छ। किसानलाई सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले आयात गर्ने मलमा अनुदानको व्यवस्था गरिएको छ।

चालु आवमा मल आयातका लागि ३१ अर्ब रुपैयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १४:०१ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्