Kathmandu Press

प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ?

बर्दघाट प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा रोल्पाका टङ्कबहादुर झाँक्री मगरको ‘प्रिय पत्रकार’ शीर्षकको कविता पहिलो भएको छ कपिलवस्तुका शिशिर बन्जाडेको कविता ‘नेता बनुँ झैँ लाग्यो’ दोस्रो भयो।
प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ?

बेलहिया  (रुपन्देही), असार १८

प्रिय पत्रकार !
म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ 
कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमिल भाकाहरु
संस्कार, संस्कृति र वेषभूषाहरु। 
र, कोरेको छु भुइँ मान्छेहरुको आवाज, दियो कुरी बसेका आखाँहरुको आशा 

थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले प्रिय पत्रकार शीर्षकको कविताका हरेक वाक्यमा पत्रकारलाई लक्षित गरी सोधिएका वाक्यांशले बर्दघाट नगरपालिकाको सभाहलमा उपस्थित सबैको ध्यानकर्षण गराइरहेको थियो। कवि झाँक्री मगरले अगाडि वाचन गरेः
कोरेको छु, 
हुरीको आवेगले उजाडिएको झुप्रोभित्र,
मुस्कान पर्खिरहेका ओठहरुको माग। 
र, कोरेको छु
समयको जोखना हेरेर 
आकाशे खेती गर्न आउने
दुर्लभ प्राणीहरुको दोहोरो चरित्र।

Hardik ivf

प्रिय पत्रकार !
साँच्चै यस्तो कविता रंगीन सहरबाट प्रकाशन हुने, ठुलो अखबारमा छापिन्छ कि छापिँदैन?’

लुम्बिनी प्रदेशका १२ जिल्लाका साहित्यकारले भरिभराउ हलमा मगरको उक्त कविताले पत्रकारलाई प्रश्न गरेपछि कपिलवस्तुका शिरिष बञ्जाडेले समाजमा विभिन्न पोशाक लगाउनेको पेसाप्रति व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेको ‘नेता बनुँ झैँ लाग्यो’ शीर्षकको कविताले तालीको गडगडाहट पायो। 

सेतो कोट भिरेर आज तनको व्यापार फैलाउँछन्,
कालो कोट भिरी समाजभरमा उद्दण्ड मच्चाउँछन 
निलो कोट भिरेर दोहन गरे सम्पत्ति यो राष्ट्रको
जो–जो गर्छ यिनै कुरा छ उसैको सेखी असाध्यै ठूलो
हिँड्छन गणतन्त्र आज उनले च्यापेर काखीमुनि,
भन्छन्– उड नभ चुम स्वतन्त्र त भइस् काटी पखेटा लगी। 
कैयौँ तन्त्र उठे ढले विगतमा,
आट्यो र के ढल्न थाल्यो यो? 
यौटा तन्त्र बचाउने प्राण लिइ नेता बनुँ झैँ भयो। 

बञ्जाडे र झाँक्री मगरसहित २५ वटा कविता वाचन गरिएको उक्त कार्यक्रममा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सहभागी नचलमलाई बसिरहे। र, कविता सुनिरहेँ।

असारको मध्यमा निरन्तर परिरहेको झरीको पर्वाह नगरी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका साहित्यकारको भीडबाट बेलाबेला तालीको गडगडाहटको स्वर गुञ्जिरह्यो। दिनभर बर्दघाट नगरपालिकाको सभाहलमा कवि र कविताबारेमा छलफल पनि चल्यो। सोही अवसरमा पत्रकारसमेत रहेका दाङका स्रष्टा नविन अभिलाषीले 

आफ्नै पसिनाको उर्वर भूगोलमा हामी अनन्त दुःखका असली उपभोक्ता मात्र बन्यौँ,
आगो छुटेको प्रमिथस जस्तो, कालो कुवाभित्र कैद गरिएका दास जस्तो भयौँ’ 
वाक्यांश सहित ‘पुनश्चः प्रायश्चित’ शीर्षकको कविताले धेरैलाई सोचमग्न बनायो।

लुम्बिनी प्रदेशमा रहेका एक सय नौ स्थानीय तहमध्ये भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने गरी नवलपरासीको बर्दघाट नगरपालिकाले प्राज्ञसभा गठन गरेको छ। सोही बर्दघाट प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको प्रदेशस्तरीय कवि गोष्ठी तथा प्रतियोगिताका सहभागीले देश परिवेशका बारेमा कवितामार्फत आफ्नो चासो र चिन्ता जाहेर गरेका हुन्।

‘प्रिय पत्रकार’ कविता प्रथम

बर्दघाट प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा रोल्पाका टङ्कबहादुर झाँक्री मगरको ‘प्रिय पत्रकार’ शीर्षकको कविता पहिलो भएको छ कपिलवस्तुका शिशिर बन्जाडेको कविता ‘नेता बनुँ झैँ लाग्यो’ दोस्रो भयो। साथै नेपाल टेलिभिजनमा कार्यरत पत्रकार नवीन अभिलाषीको ‘पुनःप्रायश्चित’ कविता तेस्रो र पद्यमावती रिजालको कविता चौथो भयो। 

प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा पहिलोलाई रु २५ हजार, दोस्रोलाई रु २० हजार, तेस्रोलाई रु १५ हजार र चौथोलाई रु १० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रतियोगितात्मक कविगोष्ठीमा इमेलमार्फत प्राप्त भएका ५१ रचनामध्ये छनोटमा परेका २७ कवितामध्ये २५ वटा गोष्ठीमा वाचन गरिएको थियो। प्रतियोगितामा नवलपरासीका डा श्यामप्रसाद न्यौपानेको संयोजकत्व र रुपन्देहीका कविराज पौडेल र दाङका टीकाराम उदासी मगर मूल्याङ्कनकर्ता थिए। 

प्रमुख अतिथी लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले साहित्य समाजको दर्पण भएको बताए। प्रज्ञा–प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपानेले साहित्यिक उन्नयनका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने भनाइ राखे। 

उनले भने, 'साठी वर्षदेखि कविता लेखिरहेको स्रष्टाका रुपमा यहाँ सहभागी हुन पाउँदा आफूलाई गौरवान्वित बनाएको छ।' कार्यक्रममा बर्दघाट नगर प्रमुख तथा बर्दघाट प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठले साहित्यको विकासका लागि सहयोग सधैँ जारी रहने बताए। नगरपालिकाका उपप्रमुख तथा संरक्षक रुद्रप्रकाश उपाध्ययले बर्दघाट नगरले सोचेभन्दा महत्वपूर्ण राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए।

भाषा साहित्यका विद्वान प्राध्यापक होमनाथ पान्डेले भाषा साहित्यको विधामा सबैभन्दा जेठो विधा कविताले संसारलाई मार्गदर्शन गर्ने बताए। उनले भने, 'विज्ञान, दर्शन, शास्त्र, पुराण सबै कवितामय हुनुको पछाडि केही विशिष्ट लक्षण छन्।'

बर्दघाट प्रज्ञा–प्रतिष्ठानका उपकुलपति टीकाबहादुर पहारीले समाज र देशको चित्रण गर्ने गरी प्रस्तुत भएका कविताको उचाइ धेरै माथि भएको बताउनुभयो। संस्थाका सदस्यसचिव वामदेव अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशको बर्दिया, बाके, दाङ, रुकुम, रोल्पा, कपिलवस्तु, प्यूठान, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, नवलपरासी जिल्लाका कविको उपस्थिति थियो। (रासस)

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्