प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाको जित
काठमाडौं, माघ २८ : स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले रियल बेटिसमाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ। निकै प्रतिस्पर्धात्म....

काठमाडौं, माघ २८ : स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले रियल बेटिसमाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेको हो।
खेल सुरु भएको छैटौं मिनेटमै रियल बेटिसले अग्रता लिएको थियो। बेटिसका लागि सर्जियो कानालेसले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसको तीन मिनेटपछि बार्सिलोनाका लागि फ्रान्की डे जोङले जवाफी गोल फर्काए । २६औं मिनेटमा रियल बेटिसले पुनः अग्रता लियो। रियल बेटिसका लागि नाबिल फेकिरले दोस्रो गोल गरेका हुन्। पहिलो हाफको खेल सकिनुभन्दा ठिक अघि सर्जियो बसक्वेट्सले बार्सिलोनाका लागि जवाफी गोल गरे।
खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा ७२औं मिनेटमा डिफेन्डर क्लिमेन्ट लेङ्लेटले बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए। खेलमा अन्त्यतिर दुवै टोली १०/१० खेलाडीमा समेटिएका थिए। ७६औं मिनेटमा रियल बेटिसका नाबिल फेकिर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। ७९औं मिनेटमा बार्सिलोनाका लेङ्लेट पनि दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।
त्यसअघि पाँचौं मिनेटमै लेङ्लेटले पहिलो कार्ड पाएका थिए। सहभागी सबै टोलीले २३ औं चरणको खेल खेलिसक्दा ५२ अंकसहित रियल म्याड्रिड पहिलो र ४९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छन्।











