Kathmandu Press

झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन

मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। उनी एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएक थिए।
झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन

झापा, असार १८ : झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ। 

मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। उनी एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएक थिए। ज्वरो र पिसाबमा सङ्क्रमण फैलिएपछि टेक्सासकै एक अस्पतालमा उनको एक सातादेखि उपचार भइरहेको थियो।

Hardik ivf

उनका उपन्यास, कथा, निबन्ध, हास्यव्यङ्ग्य, कविता, एकाङ्कीलगायतका थुप्रै कृति प्रकाशित छन्। विजयका निबन्ध (निबन्ध, २०६४), क्षितिजवारी क्षितिजपारी (काव्य, २०६५), बाटुली (विज्ञान काव्य, २०६६), इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८), विजयका कविता (कविता सङ्ग्रह, २०६५), सम्झनाका तरेली (निबन्ध सङ्ग्रह, २०७७), छोपिएका तारा (इतिहास), कति रोउँ म (शोक काब्य), राम साइँलीहरु (कथा कुथुङ्ग्री, २०७४), अल्पिल्टा स्वर (निबन्ध सङ्ग्रह, २०७८) र कल्पना, मुना (समालोचना, २०७८), झर्रा शब्दहरुको सङ्ग्रह (शब्दकोश, २०७९), झिल्का (कुथुङ्ग्री सङ्ग्रह) र युगारम्भ (उपन्यास, २०७९) उनका प्रकाशित कृति हुन्।

साहित्यकार खरेलका छोरा र बुहारी अमेरिकामा छन्। छोराबुहारी भेट्न उनी पत्नी पार्वती खरेलसहित अमेरिका गएका थिए। उनका छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुन्।

सुसेली साहित्यिक परिवार झापाका अध्यक्ष पुण्यप्रसाद खरेलले नेपाली साहित्य जगतले झर्रोवादी अग्रज साहित्यकार गुमाएको बताए। 'साहित्यका सबै विधामा उत्तिकै कलम चलाउनुहुन्थ्यो,' सुसेलीका अध्यक्ष खरेलले भने, 'भर्खरै मात्र उनको झर्रा शब्दको शब्दकोश नै प्रकाशित भएको थियो।'

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्