कर्मचारीपछि कानुनव्यवसायी पनि आन्दोलनमा उत्रिए
जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेको विरोधमा आइतबार देशैभरका अदालतका कर्मचारी आन्दोलित भएका थिए।
काठमाडौं, असार १८ : अदालतका कर्मचारीले कानुन व्यवसायीलाई थुनाएको विरोधमा देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले सोमबार मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका हुन्।
जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेको विरोधमा आइतबार देशैभरका अदालतका कर्मचारी आन्दोलित भएका थिए। अहिले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा चलिरहेको छ।
कानुन व्यवसायी माथि झुठ्ठा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको बताउँदै त्यसविरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको भनाई बारको छ। नेपाल बारले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको छ।
यही असार १३ गते मुद्दाको बिषयलाई लिएर जिल्ला अदालत ललितपुरकी नासु तामाङमाथि हातपात भएको थियो। यता जिल्ला प्रशासन कार्यालय लतिपुरले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरिसकेको छ।
बारको नेतृत्वमा कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका हुन्।












