द्वन्द्वकालीन घटनाका उजुरीको सुरक्षा माग गर्दै पीडित सर्वोच्चमा
आयोगका पदाधिकारीको कार्यकाल सकिए पनि नयाँ पदाधिकारी नियुक्त हुन नसकेका कारण उजुरीको सुरक्षामाथि प्रश्न उठेको भनाई पीडितको छ।
काठमाडौं, असार १५ : द्वन्द्वकालीन घटनामा दोषीमाथि कारवाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा परेका उजुरी सुरक्षको मागसहित द्वन्द्वपीडित एवम् पीडितका परिवार रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।
आयोगका पदाधिकारीको कार्यकाल सकिए पनि नयाँ पदाधिकारी नियुक्त हुन नसकेका कारण उजुरीको सुरक्षामाथि प्रश्न उठेको भनाई पीडितको छ। द्वन्द्वपीडित अधिवक्ता ज्ञानेन्द्र आरणसहित २३ जनाले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। रिटमा उजुरीको सुरक्षाका लागि तत्काल पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन र नियुक्तिको माग छ।
पदाधिकारीको अभावमा उजुरीहरुमाथि छानबिन नहुने भएकाले कानुन संशोधन गरी कदम अघि बढाउन सरकारका नाममा परमादेशको माग गरिएको छ। पदाधिकारी नियुक्तिमा पारदर्शीताको सुनिश्चितता र निश्पक्ष छानविनको माग पनि गरिएको छ। रिटमाथि आइतबार सुनुवाई हुने जानकारी रिट निवेदकले दिएका छन्।












