Kathmandu Press

हेंवाखोला डाइभर्सनको निरन्तरतामा वर्षाको अल्झन

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गमा पर्ने हेंवा खोलाको ४५ मिटर लामो सडक पुल बगाएको थियो। उक्त पुल रहेकै स्थानमा इलामस्थित सडक डिभिजन कार्यालयले बेलिब्रिज निर्माण गरिरहेको छ।
हेंवाखोला डाइभर्सनको निरन्तरतामा वर्षाको अल्झन

काठमाडाैं, असार १५ : निरन्तर वर्षा भएपछि पाँचथरको हेंवा खोलामा डाइभर्सन सञ्चालन गरी यातायात पुनः सञ्चालन गर्ने प्रयास सार्थक हुन सकेको छैन। डाइभर्सन सञ्चालन हुन नसक्दा मेची राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन्।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गमा पर्ने हेंवा खोलाको ४५ मिटर लामो सडक पुल बगाएको थियो। उक्त पुल रहेकै स्थानमा इलामस्थित सडक डिभिजन कार्यालयले बेलिब्रिज निर्माण गरिरहेको छ। बेलिब्रिज निर्माण सम्पन्न गर्न लामो समय लाग्ने भएपछि राजमार्गलाई अस्थायीरुपले सञ्चालन गर्न पुल रहेको स्थानभन्दा करिब एक सय मिटर माथि डाइभर्सन निर्माण थालिएको थियो तर निरन्तर वर्षा हुँदा खोलामा बाढी आएका कारण डाइभर्सनबाट सवारीका साधन सञ्चालन हुन सकेका छैनन्। 

Hardik ivf

इलामस्थित सडक डिभिजन कार्यालय, जिल्लाका सुरक्षा निकायहरु र स्थानीयवासीको सक्रियतामा चार दिन लामो प्रयासपछि मङ्गलबार डाइभर्सन निर्माण गरिएको थियो। मङ्गलबार दिउँसो २ बजेदेखि डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्न थालेका थिए। लामो समयदेखि हेंवा खोलाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकातर्फ थन्किएका सयौँका सङ्ख्याका सवारीका साधन गन्तव्यतर्फ लागेका थिए।

मङ्गलबार राति १० बजेपछि सम्भावित जोखिमलाई ख्याल गर्दै पाँचथर प्रहरीले डाइभर्सनबाट आवागमन बन्द गरायो। मङ्गलबार राति आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि बुधबार बिहानदेखि साँझसम्म सवारी आवागमन ठप्प भयो। ह्युमपाइप थप गरी बुधबार दिनभरिको प्रयासपछि साँझदेखि डाइभर्सन सञ्चालनमा आएको थियो तर बिहीबार राति झनै ठूलो वर्षा भएपछि डाइभर्सनमा क्षति पुगेको छ भने डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको छ। जिल्लाको फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाका धेरै क्षेत्रमा निरन्तर वर्षा हुँदा खोलामा पानीको बहाव घट्न सकेको छैन।

डाइभर्सनबाट सवारी साधन आवतजावत हुने र रोकिने क्रम जारी रहेपछि यात्रु तथा ढुवानीका सवारीसाधनहरु अहिले हेंवा खोलाको आसपासमा थन्किएर बसेका छन्। खोलामा बाढी आइरहेका कारण बिहीबार भने डाइभर्सन मर्मतसमेत हुन सकेन। डाइभर्सनबाट सवारी साधन पार नगरेपछि खोलाको दुईतर्फ रहेका सवारी साधनले यात्रुहरुलाई गन्तव्यमा पुर्‍याइरहेका छन्। यात्रुहरुले तुइन र फड्केको सहायताले खोला तर्ने गरेका छन्। 

बुधबार रातिको बाढीले बगाएको पुलभन्दा करिब दुई सय मिटर तल निर्माण गरिएको बाँसको फड्केमा क्षति पुर्‍याएको थियो। आज सुरक्षाकर्मी, स्थानीयवासी र फिदिमका युवाको सक्रियतामा उक्त फड्के मर्मत गरी हिँडेर खोला पार गर्न सहज बनाइएको छ।

वर्षाको उल्झनका कारण डाइभर्सन सञ्चालन हुन नसकेपछि मेची राजमार्गमार्फत जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लामा अत्यावाश्यक सामग्री आपूर्ति हुन सकेको छैन। सामग्री आपूर्ति हुन नसकेपछि ती स्थानमा मानवीय सङ्कट उत्पन्न हुनसक्ने भन्दै बेलिब्रिज निर्माण कार्य चाँडो पूरा गर्न दबाबसमेत दिन थालिएको छ। बेलिब्रिज निर्माणका लागि खोलाको दुवैतर्फ पर्खाल निर्माणको कार्य भइरहेको इलामस्थित सडक डिभिजन कार्यालयले जनाएको छ।

हेंवा खोला निकै ठाडो भएका कारण पानीको बहाव पनि उच्च छ। यहाँ डाइभर्सन निर्माणका लागि सुरुमा १२ वटा ह्युमपाइप प्रयोग गरिएको थियो।  फैलिएकोे पानी डाइभर्सनमा नअटेपछि पुनः चार वटा ह्युमपाइप थपिएको थियो। सो सङ्ख्या पनि अपुग भएपछि ताप्लेजुङबाट थप छ वटा ह्युमपाइप ल्याई थप्दासमेत सफल हुन नसकेको हो।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्