‘बकर इद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो’
उनले यो पर्वले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास लिएका छन्।
काठमाडाैं, असार १४ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इदउल अज्हा (बकर इद) को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
उनले यो पर्वले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास लिएका छन्। यस पर्वका अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता मुस्लिम दर्शनमा छ, यसलाई उदाहरणीयरूपमा लिइन्छ। बकर इद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो।
'नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्, हामीले संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि राष्ट्रिय मुस्लिम आयोगको गठनसँगै मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक बन्दै गएको विश्वास लिएको छु,' उनले आज जारी गरेको शुभकामना सन्देशमा भनेका छन्।
मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने उनको विश्वास छ। बकर इदको अवसरमा इस्लाम धर्मावलम्बीलाई सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामनासमेत उनले व्यक्त गरेका छन्।












