Kathmandu Press

विपद् जोखिम न्यूनीकरणमा साझा प्रयासको खाँचो

गृह मन्त्रालय र डिपीनेट नेपालको संयुक्त आयोजनामा आजदेखि सुरु भएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनका सहभागीहरूले सेन्डाइ कार्यढाँचाको कार्यान्वयनको मध्यकालीन समीक्षा गरी आगामी दिनमा यसलाई प्रभावकारीरूपमा कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन्।
विपद् जोखिम न्यूनीकरणमा साझा प्रयासको खाँचो

काठमाडाैं, असार १४ : बहुप्रकोपीय विपद्का हिसाबले उच्च जोखिममा रहेको नेपालमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’सम्बन्धी राष्ट्रिय नीति कार्ययोजना तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनमा सरोकारवालाहरूले जोड दिएका छन्।

गृह मन्त्रालय र डिपीनेट नेपालको संयुक्त आयोजनामा आजदेखि सुरु भएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनका सहभागीहरूले सेन्डाइ कार्यढाँचाको कार्यान्वयनको मध्यकालीन समीक्षा गरी आगामी दिनमा यसलाई प्रभावकारीरूपमा कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन्।

Hardik ivf

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विपद्का क्षेत्रका कार्य गरिरहेका सरकारी, गैरसरकारी, सहयोगी दातृ संस्था एवं स्थानीय तहका पदाधिकारीहरू गरी करिब दुई सयको सहभागिता रहेको छ। सहभागीबीच विपद् जोखिमको अवस्था, जोखिम न्यूनीकरण, पूर्वतयारी, राहत तथा उद्धारसम्बन्धी भइरहेका योजना तथा कार्यक्रम, नीतिगत व्यवस्था र आगामी दिनमा अपनाउनुपर्ने कार्ययोजनाका विषयमा सरोकारवाला निकायबीच भइरहेका कामकारबाही र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा समेत अनुभव आदान–प्रदान हुनेछ।

नेपाल विश्वव्यापीरूपमा प्रकोपका हिसाबले एघारौँ स्थानमा छ। भूकम्प र बाढीको जोखिमको हिसाबले क्रमशः तीसौँ स्थानमा छ। नेपालले महाभूकम्पदेखि विश्वव्यापीरूपमा उल्लेखनीय प्रकोपका घटना देखेको छ। त्यसैले पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावमा आधारित बनाएर चुस्त योजना कार्यान्वयन गर्नु जरुरी रहेको सहभागीहरूले औँल्याएका छन्।

सम्मेलन उद्घाटन समारोहमा गृहसचिव दिनेश भट्टराईले तीनै तहका सरकारको साझेदारीमा विपद्का अवधारणालाई अगाडि बढाउने प्रयास सुरु भएको जानकारी गराउँदै मुलुकमा देखिएका बहुप्रकोपीय विपद्को सामना गर्न सबैको सहकार्य आवश्यक भएको औँल्याए। नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले विपद्बाट निजी क्षेत्र पनि बढी प्रभावित हुने भएकाले महासङ्घले विपद्सम्बन्धी कार्यमा अन्य निकायहरूसँग सहकार्य गरी अघि बढ्न अलग्गै समितिको गठन गरेको जानकारी दिए।

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख महादेव पन्थको सभापतित्वमा भएको कार्यक्रममा डिपीनेट नेपालका अध्यक्ष सूर्यबहादुर थापाले तीनै तहका सरकारबीच समन्वय र सहकार्यबाट यस वर्षलाई विपद् जोखिम न्यूनीकरण अभियान वर्षको रूपमा मनाउन आग्रह गरे।

युएसएआडीका कल्पना अर्यालले पछिल्लो समय कोभिड र आर्थिक मन्दीका कारण प्रभावित जनतालाई विपद्जन्य अवस्थाबाट सहज गराउन सन् २०२० देखि २०२५ सम्मको पाँचवर्षे रणनीतिक योजना तयार गरिएको जानकारी दिए। सम्मेलनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीति, प्रावधान र अभ्यासबारे ज्ञान बढाउन, विभिन्न तहका सरोकारवालाबीच समन्वय बढाउन तथा समन्वयात्मकरूपमा कार्यनीति बनाई लागू गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्