Kathmandu Press

५० लाख दाइजो नपाए बिहे रद्द गर्ने धम्की दिने बेहुला मण्डपबाटै पक्राउ

५० लाख दाइजो नपाए बिहे रद्द गर्ने धम्की दिने बेहुला मण्डपबाटै पक्राउ

काठमाडौं, असार १३ः बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो माग्दै बिहे रद्द गर्ने धम्की दिएको आरोपमा एक जना बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार छन् ।

अमेरिकाको ग्रिनकार्ड प्राप्त रौनियारको यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो ।

विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिएका थिए । जबकि केटा पक्षले पटकपटक गरी २२ लाख रुपैयाँसमेत केटी पक्षबाट लगेको बुझिएको प्रहरीले जनाएको छ ।

विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रौनियार उपर विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११:३५ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्