Kathmandu Press

बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछः मन्त्री राई

बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछः मन्त्री राई

काठमाडौं, असार १२ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन आएपछि बालविकास शिक्षक र विद्यालय कर्मचारीका सुविधासम्बन्धी सवाल सम्बोधन हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले यसका लागि चार सदस्यीय वार्ता समिति गठन भइसकेको बताए । 

‘सामुदायिक विद्यालयमा बालविकास शिक्षक र विद्यालय कर्मचारीको सुविधावृद्धिको मागसहित भएको आन्दोलनलाई सम्बोधन गर्न चार सदस्यीय वार्ता समिति गठन भई समस्या समाधानका लागि पहल भइरहेको र वार्ताको निष्कर्ष बमोजिम कार्यान्वयनका लागि मन्त्रालयले काम हुनेछ,’ उनले भने ।

Hardik ivf

मन्त्री राईले विश्व परिवेशमा आएका नविनतम् आयामलाई समेटेर प्राविधिक र व्यवसायिक शिक्षा सुधारका कार्यक्रम सञ्चालन गरिएको बताउँदै गुणस्तरीय शिक्षाको प्रबन्धका लागि प्रविधि र शिक्षक तालिममा सुधारका कार्यक्रम सञ्चालन गरिएको पनि बताए ।

उनले शैक्षिक सुधार र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि तीन तहका सरकारसँगको समन्वय वृद्धि र सुशासन कायम गर्न विभिन्न कार्यक्रम र रणनीति कार्यान्वयनमा ल्याइएको पनि स्पष्ट पारे ।

मन्त्री राईले आगामी आर्थिक वर्षमा कूल बजेटको ११.०२७ प्रतिशत बजेट रहनु पर्याप्त नभए पनि उपलब्ध स्रोतको परिधिभित्र रही शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।

उनले विद्यालय तहदेखि नै कृषि क्षेत्रमा आकर्षण दिलाउन ‘सिक्दै कमाउँदै’ कार्यक्रमलाई थप ५० विद्यालयमा विस्तार गरिने समेत बताए । उनले विद्यालय तहबाट गणित, इञ्जिनियरिङ, विज्ञान, कलालगायतका विषयमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने पनि बताए ।

मन्त्री राईले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा परीक्षा प्रणाली सुधार, शैक्षिकपात्रोको कार्यान्वयन र अनुसन्धानमुखी उच्चशिक्षाका लागि पहल गरिने विश्वास व्यक्त गरे ।

उनले संघीय शिक्षा ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई यही असार ४ गते मन्त्रिपरिषद्मा पेस भएकाले चाँडै सदनमा पेस गरिने जानकारी दिए । उनले शिक्षक दरबन्दी मिलान र दरबन्दी थपका सम्बन्धमा काम भइरहेको र रिक्त शिक्षकको विज्ञापन प्रकाशनका लागि तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २०:१८ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्