Kathmandu Press

भ्रष्टाचार अभियोगमा कृषि विकास प्रमुखमाथि मुद्दा दायर

भ्रष्टाचार अभियोगमा कृषि विकास प्रमुखमाथि मुद्दा दायर

काठमाडौं, असार १२ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरी भ्रष्टचार गरेको आयोगले आरोप छ ।

आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका–४ स्थित खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही नगरी छाडिएको थियो । 

कार्यस्थलमा नभएको कामको समेत विवरण तयार पारी १२ लाख ८३ हजार ३४ बराबरको भुक्तानी दिएको पाइएको आयोगको भनाइ छ । सो कार्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाविरुद्ध रु १२ लाख ८३ हजार ३४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, सोही कार्यालयका सब–इञ्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध पनि समान बिगो दाबी गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

प्रकाशित मिति: २०:५८ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्