अकिब इल्यास भन्छन्- यो शतक नेपाली दर्शकलाई
काठमाडौं, माघ २६ : विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सान....

काठमाडौं, माघ २६ : विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सानदार शतक बनाएका ओमानी ब्याट्सम्यान अकिब इल्यासले शतक नेपाली दर्शकप्रति समर्पित गरेका छन्।
नेपालविरुद्ध ओमानलाई ८ विकेटको जित दिलाउने क्रममा अकिबले नटआउट १०९ रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनले कप्तान जिसन मक्सुदसँग १६३ रनको कीर्तिमानी साझेदारी गरेका थिए। खेलमा चार विकेट पनि लिएका अकिब प्लेयर अफ दी म्याच समेत बने।
पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अकिबले आजको शतक नेपाली दर्शकलाई समर्पित गर्न चाहेको बताए। उनले नेपाली समर्थकको व्यवहारले आफूलाई लोभ्याएको समेत बताए।
‘मैले दर्शकले विपक्षी टिमविरुद्ध गर्ने यस्तो व्यवहार कहिल्यै देखेको थिइनँ,’ अकिबले भने, ‘उहाँहरू विपक्षी खेलाडीलाई पनि हौसाइरहनु भएको थियो, यस्तो व्यवहारले म मात्र होइन, हामी सबै अचम्मित छौं।’

सन्दीप लामिछानको बलमा एक रन लिँदै शतक बनाएपछि अकिबले दर्शकतर्फ फर्कँदै ब्याट उठाएर अभिवादन गरेका थिए। दर्शकले पनि उनलाई उठेर ताली बजाएर बधाई दिएका थिए।
‘यस्तो दर्शकबीच शतक बनाउन पाएँ, यो मेरो जीवनकै अविष्मरणीय क्षण हो,’ अकिबले भने, ‘अब म फेरि नेपाल आउँछु या आउँदिन त्यो त थाहा छैन, तर दर्शकको यो माया सधैं मेरो मनमष्तिष्कमा रहिरहने छ। दर्शकले जुन माया दिनु भयो त्यसैले शतक उहाँहरुप्रति समर्पित गरेको हुँ।’
ओमानले नेपालमा उत्कृष्ट प्रदर्शन गर्नुको एउटा कारण नेपाली दर्शक भएको पनि उनले बताए। साथै उनले यहाँको वातावरण पनि आफूहरुका लागि अनुकूल भएको बताए।
‘हामी धेरैजसो गर्मीमा अभ्यास गर्छौं, खेलपछि धेरै थकाइ लाग्छ। तर, यहाँ त्यस्तो छैन,’ अकिबले भने, ‘नेपाली दर्शकको साथले थकाइको महसुस नै हुँदैन। हाम्रो उत्कृष्ट प्रदर्शनको पछाडि यो पनि एउटा कारण हो।’
खेलपछि पनि मैदानको एक भागमा केही समर्थक ओमानी टिमको समर्थन गरिरहेका थिए। धेरैले अकिब... अकिब... भनिरहेका थिए।
पुरस्कार वितरण सकिएलगत्तै अकिब दर्शक भएतिर आए, समर्थकसँग फोटो खिचाए र सेल्फी पनि लिए। साथै उनले आफूले लगाएको आउटर दर्शकलाई दिएका थिए।











