Kathmandu Press

एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २६ :  न्यूरोड टिम (एनआरटी) लाई हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उ....

एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २६ :  न्यूरोड टिम (एनआरटी) लाई हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) लाई ४–१ गोल अन्तरले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

मनाङको जितमा अन्जन विष्टले दुई तथा विमल राना र दयानन्द सिंहले एक–एक गोल गरे । मनाङले दुवै हाफमा समान दुई गोल गरेको थियो। एनआरटीका सकल रेग्मीले सान्तोना गोल गरे।

३५ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए। ४३ औं मिनेटमा अन्जनले गोल गरेपछि मनाङले पहिलो हाफमै २–० को अग्रता लियो। ६५ औं मिनेटमा पुनः अन्जनले गोल गरेपछि मनाङले ३–० को अग्रता लियो। 

८९ औं मिनेटमा एनआरटीका सकलले गोल गर्दै खेललाई ३–१ मा ल्याए। तर, इन्जुरी समयको चौथो मिनेटमा भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई ४–१ को जित दिलाए। 

जितपछि मनाङ २२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। एनआरटी भने १५ अंक जोड्दै आठौं स्थानमा छ। लिगमा २६ जोड्दै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने २५ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ। 

मनाङ र एनआरटीको बीचको खेल आइतबार हल्चोकस्थित एपिएफ मैदानमा हुनुपर्ने थियो। तर, मैदान खराब भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल अन्तिम समयमा सोमबारका लागि सारेको थियो। 

ए डिभिजन लिगमा अब दुई चरणका खेल बाँकी छन्। लिगको अन्तिम खेलबाहेक सबै खेल अब एन्फा कम्प्लेक्समै हुनेछन्। उपाधिको छिनोफानो हुने आर्मी र मच्छिन्द्रबीचको खेल भने दशरथ रंगशालामा हुने छ। 

आसन्न विश्वकप छनोटको खेलका लागि दशरथ रंगशालामा मर्मत गर्नुपर्ने भएकाले एन्फाले लिगका खेल एन्फा कम्प्लेसक्समा सारेको हो। 
 

प्रकाशित मिति: १९:१० बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्