तीव्र गतिमा सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीद्वारा ‘राडर गन’को प्रयोग

काठमाडौं, असार ११ः एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सो प्रविधि सुरु गरेको हो ।
एयरपोर्ट–तीनकुने सडकमा यातायात व्यवस्था विभागले तोकेको गतिभन्दा बढी सवारी कुदाउनेलाई कारबाही थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘राडर गन’को प्रयोगपछि एयरपोर्ट–तीनकुने सडकमा तोकिएको मापदण्ड भन्दाबढी गतिमा सवारी चलाउने दैनिक २० देखि २५ सवारी चालक कारबाहीमा पर्ने गरेको एयरपोर्ट ट्राफिक पोष्टका प्रमुख शेरसिंह धामीले बताए । कारबाहीमा पर्नेमा मोटरसाइकल बढी रहेको धामीले जानकारी दिए ।
चारपाङ्ग्रेमा मिनिट्रकले पनि तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ । ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई एक सय रुपैयाँ जरिवाना गर्ने गरेको छ । राडर गनको ट्रिगरलाई औंलाले दबाएपछि त्यसको विकीरण सडकमा गुडिरहेको सवारीमा पर्ने तथा कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अङ्क देखाउने गरेको प्रमुख धामीले बताए ।
‘एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिन्छ । धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनुपर्दा जुन गाडी तीव्र गतिमा गुडेको देखिन्छ, त्यसको मात्रै स्पिड पत्ता लगाउन सकिन्छ,’ उनले भने । काठमाडौंमा रहेका ६ लेनका सडकमा यातायात व्यवस्था विभागले प्रतिघण्टा ६० किमि गुडाउन सकिने मापदण्ड तोकेको छ ।
प्राय तीव्र गतीमा मोटसाइकल कुद्ने भएकाले ट्राफिकले यहाँका सडकमा विषेश गरी मोटरसाइकल चालकलाई निगरानी गरेर कारबाही गर्ने गरेको छ ।












