पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह

काठमाडौं, असार ११ः राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातनापीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा आयोगले यातनासम्बन्धी उजुरीहरुमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही तथा पीडकबाट क्षतिपूर्ति भराउनेलगायत सरकारलाई सिफारिस गरेको उल्लेख कार्यान्वयनमा जोड दिन स्मरण गराइएको छ ।
यातनासम्बन्धी उजुरीहरुमा करिब २०० वटाको आयोगले सिफारिस गर्दै पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न भनेको छ ।
‘यी सिफारिसको कार्यान्वयनको सन्दर्भमा केहीमा पीडितहरुलाई क्षतिपूर्ति दिलाउनेबाहेक पीडकलाई कारबाही गर्ने कार्यहरु अत्यन्त न्यून देखिएकाले आयोगको सिफारिस कार्यान्वयनमा जोड दिन सरकारलाई यस अवसरमा आयोग पुनः स्मरण गराउँदछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । उनका अनुसार हाल आयोगमा यातनासम्बन्धी ३५८ वटा उजुरीहरु विचाराधीन अवस्थामा रहेका छन् ।
‘आयोगले स्थापनादेखि नै यातना दिइने कार्यको विरुद्ध अनुगमन तथा अनुसन्धान गर्दै आइरहेको छ । नेपालमा विगतको सशस्त्र द्वन्द्वको समयमा पक्राउ गरी मानसिक तथा शारीरिक यातना दिइएका घटनाहरुको विषयमा उजुरी दर्ता गर्ने र ती घटनाहरुमा आयोगले अनुगमन तथा अनुसन्धान गरी सरकारसमक्ष सिफारिस गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले कसैले पनि कुनै व्यक्तिलाई कुनै पनि बहानामा यातना दिने कार्य कानुन विपरीत भएको जनाउँदै व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन समेत भनेको छ ।












