‘आदिपुरुष’बाहेक अरु हिन्दी चलचित्र चलाउने संघको निर्णय
शुक्रबार संघले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो। उच्च अदालत पाटनले विहीबार हिन्दी चलचित्र प्रदर्शनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
काठमाडौं, असार ८ : हिन्दी चलचित्र रोक्न काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले हल मालिकलाई दिएको निर्देशनको विपक्षमा उभिँदै नेपाल चलचित्र संघले हिन्दी फिल्म चलाउने निर्णय लिएको छ। तर हिन्दी चलचित्र ‘आदिपुरुष’ भने नचलाउने निर्णय भएको छ।
शुक्रबार संघले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो। उच्च अदालत पाटनले विहीबार हिन्दी चलचित्र प्रदर्शनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। संघले मेयर बालेनको निर्देशनविरुद्ध उक्त आदेश पालनाको पक्षमा निणय लिएको छ। कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको ठहर संघको छ।
हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले बुधबार उच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमा न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासबाट अल्पकालिन अन्तरिम अदेश जारी गरिएको हो। मेयर शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चलाउन रोक लगाएका थिए।












