संखुवासभामा बाढिपहिरोबाट विस्थापितलाई राहत

संखुवासभा, असार ८ः संखुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत विमल पौडेलले जानकारी दिए ।
परिवारका सदस्य पाँच जनाभन्दा कम भएको विस्थापित परिवारलाई १५ हजार रुपैयाँ र पाँच जनाभन्दा बढी भएकालाई २० हजार रुपैयाँ वितरण गरिएको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार पाँचखपन नगरपालिकामा चार परिवारलाई ७० हजार रुपैयाँ, चैनपुर नगरपालिका नगरपालिकामा नौ परिवारलाई एक लाख ४० हजार रुपैययाँ तथा सभापोखरी गाउँपालिकामा दुई परिवारलाई ३० हजार रुपैयाँ वितरण गरिएको छ ।
विस्थापित भएका अन्यलाई पनि चाँडै राहत वितरण गरिने विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बेपत्ता भएका २० जनामध्ये १६ जना सुपर हेँवाखोला हाइड्रोपावरका, एकजना अपर हेँवाखोला जलविद्युत् आयोजनाका, अमर कन्ट्रक्सनका एक जना र सभापोखरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् ।
बाढी पहिरोका कारण जिल्लाका आठ हाइड्रोपावरमा क्षति पुगेको छ भने दुई वटा पक्की पुल बगाएको छ । बाढीले अन्य भौतिक संरचना पनि बगाउँदा करोडौंको क्षति भएको आँकलन छ ।











-1776587059.jpg)
