रियल र बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलबाटै बाहिरिए
काठमाडौं, माघ २४ : रियल मड्रिड र बार्सिलोना स्पेनिस कोपा डेल रे को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना एथ्ल....

काठमाडौं, माघ २४ : रियल मड्रिड र बार्सिलोना स्पेनिस कोपा डेल रे को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडले पराजित गर्यो ।
एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियो बुस्केटले आत्मघाती गोल गरेपछि बार्सिलोनाको लगातार सातौँ पटक फाइनल पुग्ने सपना साकार हुन सकेन् । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले अधिकांश समय बल आफ्नो पकडमा राख्दै एघार पटक एथ्लेटिक क्लबको पोस्टमा प्रहार गरेको थियो । तर एथ्लेटिकका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोना एक–शून्यले पराजित भयो ।
रियल मड्रिड पनि रियल सोसियडाडसँग चार–तीन गोल अन्तरले स्तब्ध भयो । खेलको २२औँ मिनेटमा मार्टिन ओडिगार्डले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । एलेक्सान्डर इसाकले ५४औँ र ५६औँ मिनेटमा गोल गरेपछि रियल सोसिडाडले रियल मड्रिडविरुद्ध तीन गोलको अग्रता लियो । मार्सेलोले रियल मड्रिडका लागि ५९औँ मिनेटमा गोल गरे ।
६९औँ मिनेटमा मेरिनोले गोल गर्दै सोसिडाडको अग्रता चार–एकमा लम्ब्याए । त्यसपछि रोद्रिगो र नाचोले गोल गरे पनि रियल मड्रिड चार–तीन गोल अन्तरले पछि रह्यो । खेलको अन्तिम समयमा रियल सोसियडाडका डिफेन्डर गोरोसाबेल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । सन् २०१० पछि बार्सिलोना र रियल मड्रिडबिना पहिलो पटक कोपा डेल रे को फाइनल हुनेछ ।
यसअघि दोस्रो डिभिजनको मिरान्डेसले ला लिगा क्लब भिल्लारियललाई चार–दुई गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो भने ग्रानाडाले भ्यालेन्सियालाई दुई–एकले पराजित गर्यो ।











