Kathmandu Press

पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित, विषयगत छलफल अघि बढ्ने

समितिको आजको बैठकले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको सभापतित्व गर्नुभएका ज्येष्ठ सदस्य लालवीर चौधरीले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले आर्थिक वर्षको अन्त्य भइसकेकाले विषयगत छलफललाई तीव्रता दिन माग गरेका थिए। 
पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित, विषयगत छलफल अघि बढ्ने
Hardik ivf

काठमाडाैं, जेठ ३१ : प्रतिनिधिसभाकाे पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। 
 
समितिको आजको बैठकले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको सभापतित्व गर्नुभएका ज्येष्ठ सदस्य लालवीर चौधरीले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले आर्थिक वर्षको अन्त्य भइसकेकाले विषयगत छलफललाई तीव्रता दिन माग गरेका थिए। 

सांसद शंकर भण्डारीले अलपत्र परेका विकासका आयोजनाका कारण खोजी गरी निष्कर्षमा पुग्नुपर्ने बताए। सडक, ठुला खानेपानी आयोजना लामो समयदेखि अलपत्र परेकाले समितिले सरोकार भएकासँग छलफल गरी आइपरेका समस्या समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिएका हुन्। 

निर्माण व्यवसायीलाई रु ८० अर्ब दिन बाँकी छ भनी प्रचारप्रसार भइरहेकाले त्यस विषयमा समेत समितिले खोजी गरी सहजीकरण गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो। अदालतको ढिलासुस्तीले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनमा बाधा पुगेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो। 
 
बैठकमा सांसदहरू प्रतिमा गौतम, डा चन्द्रकान्त राउत, गोकर्णराज विष्ट, दयालबहादुर शाही, वसन्तकुमार नेम्वाङलगायतले कार्यक्षेत्रका विषयमा प्रवेश गरी छलफललाई तीव्रता दिन माग गरेका थिए। आन्तरिक कार्यविधिमै अल्झेर बस्दा बजेटमा छलफल गर्न ढिलाइ भएको उनीहरूको भनाइ थियो। 
 
सांसदहरूले वर्षौंअघि ठेक्का भएका पुलका काम अघि नबढेको भन्दै पर्यटकीय सहर पोखरा जाने तनहुँको सडकलगायतको काम छिटो गरिनुपर्नेमा उनीहरूले जोड दिएका थिए। समितिको आन्तरिक कार्यविधि पारित भएसँगै विषयगत छलफलमा जोड दिइने समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्